Monday, June 27, 2016

My article published on Norma N. Gill Day (June 26, 2016)


स्टोमा नर्सिङकी जन्मदाता नर्मा एन जिललाई चिठी

प्रकाशित मिति:२०७३ असार १२ गते १०:४३
 553  2
-सरस्वति भण्डारी
images
नर्मा एन. जिल(सन् १९२० -१९९८
आज जुन २६ तारिख अर्थात् विश्वकै महान् व्यक्ति नर्मा एन जिलको जन्म दिन। सर्वप्रथम जिललाई जन्म दिनमा उनको काम को स्मरण गर्दै स्वर्गमा बास भएको छ भन्ने अपेक्षा गरेकी छु । सन् १९२० जुलाई २६ मा अमेरिकाको ओहायो, अक्रोनमा जन्मेकी जिलको मृत्यु सन् १९९८ मा भएको थियो । जिलको मृत्यु भएको पनि १८ वर्ष पुगेछ तर पनि उनले गरेको महान् कार्यले गर्दा आज विश्व निकै लाभन्वित भएको छ ।
विश्वकै नर्सिङ इतिहासमा निकै चर्चा प्राप्त गरेकी जिलले सन् १९५८ मा सुरुवात गरेको स्टोमा ( अपरेसन द्वारा पेटमा दिसा र पिसाब गराउनका लागि आन्द्राबाट बनाइएको प्वाल ) नर्सिङ्ले विश्वमा चर्चा पाएको छ । हामी यतिबेला उनले गरेको महान् कार्यको अर्थ खोज्दै छौँ । वास्तवमा नर्मा कति महान् छिन् भन्ने कुरालाई उनले आरम्भ गरेको स्टोमा नर्सिङले प्रमाणित गर्छ ।
जब कि १९५५ मा उनी आफैं अल्सरेटिभ कोलाइटिस बाट पीडित थिइन् । त्यसबेला उनको उपचार गर्ने क्रममा अमेरिकाको क्लेभल्यान्ड क्लिनिकमा कोलोन र रेक्टल सर्जन डाक्टररुपर्ट टर्नबुलले ठुलो आन्द्रा सबै काटेर सानो आन्द्रा पेट बाट निकालेर दिसा जाने स्टोमा बनाइदिएका थिए । त्यसबाट दिसा बाहिर आउने त भयो तर दिसा जम्मा गर्नका लागि कुनै पनि ब्याग बजारमा उपलब्ध थिएन । उनि जस्तै अन्य बिरामिहरुले गज , ब्यान्डेज,  स्पोन्ज, प्लास्टिक वा कपडाका टुक्रा सलाइनको बिर्कोले स्टोमाबाट आएको दिसा पिसाव तह लगाउथे र उनले पनि त्यसै गरिन । उनले ती दिनहरु  अत्यन्तै कष्टपूर्ण बिताइन् ।
वास्तवमा उनका लागि ती दिनहरू नरकका दिनहरुजस्तै थिए तर पनि उनले हिम्मत हारिनन् र आफ्नो अनुभवको आधारमा नया १० वर्षको बच्चादेखि वयस्क सबैलाई सेवा दिइन् । चार जना बच्चाकी आमा भएर फेरि पनि आफूजस्ता बिरामीलाई सहयोग गर्नुपर्छ भनी सन् १९५८ मा डा रुपर्ट टर्नबुलबाट स्टोमा सेवा सम्बन्धि तालिम लिइन् र नर्मा विश्वकै पहिलो ईन्टेरोस्टोमल थेरापीपिस्ट बन्न सफल भइन् ।
आजको निकै चर्चित ईन्टेरोस्टोमल थेरापी नर्सिङ अथवा उन्ड, अस्टोमीरकन्टिनेन्स नर्सिङ र छोटकरीमा यसलाई इ टि र डब्लु ओ सि नर्स भन्ने गरिन्छ । इ टि र डब्लु ओ सि नर्सले लामो समय सम्म सन्चो नभएका बिभिन्न प्रकारक घाउहरु जस्तै बिच्यौनको घाउ, अप्रेशनको घाउ, मधुमेहको कारणले खुट्टामा हुने घाउ, नशाको खराबीले खुट्टामा हुने घाउहरु,  दिशा तथा पिसाबको लागि पेटमा बनाइएका स्टोमा र दिशा  पिसाब आफै नियन्त्रण नभई चुहिने समस्या भएका बिरामीलाई बिषेशज्ञ नर्सिङ सेवा प्रदान गर्छन् । सलाम छ, उनको सोचलाई अनि उनको महान् कार्यलाई ।
नर्मालाई  चिट्ठी
Hollister
अस्टोमीब्यागहरु अनि सहयोगी सामानहरु (दिशा पिसाब दुबैको लागि प्रयोग गरिने)
me in stoma care
सेवा दिँदै लेखिका
नर्मा, अभिवादन ।  तिमी  कति धन्य छौ किनकि आफू जस्ता बिरामीहरुलाई सहयोग गर्नका लागि सन् १९६१ मा ईन्टेरोस्टोमल थेरापी नर्सिङ स्कुल खोल्यौ । अहिले तिम्रो स्कुलमा आएर कार्यक्रममा दर्ता भइ व्याचलर पास  गरेका नर्सहरुलाई भर्ना गरिन्छ र उनीहरुले जस्तोसुकै प्रकारका घाउहरु,  स्टोमा र दिशा पिसाब चुहिने बिरामीलाई उपचार गर्न सक्षम हुन्छन ।
आहिले त्यस्ता स्कूलहरु र स्टोमाक्लिनिक विश्वको धेरै देशहरुमा संचालित छन् । फेरि यतिले मात्रै चित्त बुझाइनौ किनकि तिमीलाई  थाहा थियो कपडा , प्लास्टिकको टुक्राले मात्र दिसा पिसाब थामेर जीवन चल्दैन । त्यसैले निर्माण कम्पनिसँग मिलेर अपरेसन पछि प्रयोग गर्न मिल्ने अस्टोमी ब्याग निर्माण गर्यौ । सन् १९६० को दशकमा गरौं तथा पुनः प्रयोग गर्न मिल्ने रबरको ब्यागमा धातुको रिङ भएको ब्याग बनाउन सफल भयौ । उक्त ब्याग लगाउँदा कति दुखले सिमेन्ट स्टोमाको वरिपरि लगाउथ्यौं र ब्याग टाँसिन्थ्यो र बेल्टले  ब्याग अड्याउथ्यौ । तिमीले अर्को ब्याग फेर्ने बेलामा सिमेन्ट घोल्ने रसायन प्रयोग गरेर ब्याग पखाल्न लगाउथ्यौ। त्यो अवस्था करिब एक दशकसम्म रह्यो ।
जीवन संघर्षको रोजाइका क्रममा सन् १९७० को दशकमा स्टोमाको बिरामीले प्रयोग गर्नका लागि प्राविधिक रुपले ठूलो फड्को मार्यो । यी सबै कुराहरु मैले पढेकी छु नि ! यो सबै तिम्रो अदम्य साहस, निरन्तरको प्रयास र प्राबिधिक विकासले मात्र सम्भव थियो । अहिले हलुका तौल भएको पातलो र कपडाको भित्र थाहा नपाउने गरी लगाउन सक्ने अत्याधुनिक कोलोसटोमी र युरोस्टोमी ब्यागहरु बिकसित देशहरुमा सजिलै बजारमा पाइन्छ ।
तिमीले अझ विश्व इन्टेरोस्टोमल थेरापिस्ट को उचित मुल्याङ्कन गर्दै इ टि र डब्लु ओ सि नर्सहरुको परिषद पनि खोल्न सफल भयौ र पहिलो अध्यक्ष समेत  भयौ । तिम्रो सम्मान स्वरुप उक्त परिषदले सन् १९८० मा नर्मा एन जिलफाउन्डेसन खोल्यो । तिमीले त सन् १९९८ मा स्वर्गारोहण गर्यौ । तिमीलाई  थाहा छ तिम्रो नामको फाउन्डेसनले गरिब देशका नर्सहरुलाई छात्रवृत्ति दिन्छ । म पनि त्यस्तै भाग्यमानी नर्स मध्येकी एक नर्स भएकी छु । सन् २०१३ मा क्यानडाको केट  अकेडेमीबाट इ टि र डब्लु ओ सि  नर्सिङ् सम्बन्धि एक वर्षको अध्ययन गर्न छात्रवृत्ति पाएँ । मैले सन् २००८ मा जाइका नेपाल बाट जापानमा तीन महिने स्टोमा केयरमा तालिम पाएर भरतपुरको वि पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्टोमाका बिरामीहरुलाई सेवा दिएकी थिएँ र त्यसैगरी त्यस सम्बन्धि गहिरो अध्ययन नभएकाले सबैखाले जटिल समस्या समाधान गर्न गाह्रो भएकाले मैले फेरि एक वर्षको अध्ययनका लागि आग्रह गरेको थिएँ ।
भाग्यवश उक्त अध्ययन गर्ने क्रममा नै मैले स्टोमा केयर नेपालमा दर्ता गरि अमेरिकाबाट अस्टोमी ब्यागहरु मगाएर बिरामीहरुलाई दिने व्यवस्था गर्नुको साथै वीर अस्पतालमा स्टोमा क्लिनिक संचालन गरी भोलेन्टियर रूपमा सेवा पुर्याएँ । नर्मा,  तिमीलाई आश्चर्य लाग्ला तिमीले सहयोग गरेका विशेषज्ञहरुबाट विश्वका सबै ठाउँहरुमा नर्सहरुले सेवा प्रदान गरे होलान् र हाम्रा बिरामीहरुले पनि स्तरीय सेवा प्राप्त गरे होलान् भन्ने सोचमा तिमी हौली अहँ यो हुँदै होइन, र छैन पनि । हामीसँग धेरै चुनौतिहरु छन् नर्मा !
मैले यहाँ केही तिम्रो देश र मेरो देशमा यो सेवामा बिरामीको पहुँच कत्तिको  छ र जिबनशैली मा के फरक छ भनि केहि तस्बिर तिमीलाई देखाउन चाहन्छु । तिमीलाई त थाहा छ नि स्टोमा अपेरशनले शरीरको बनावट नै परिबर्तन गर्ने भएकोले बिरामीलाई मानसिक पिडा निकै हुन्छ  र नयाँ बडि इमेजसँग घुलमिल हुन निकै समय लाग्दछ । तेसैले इ टि र डब्लु ओ सि  नर्सको उक्त प्रक्रियामा बिशेष भूमिका रहन्छ ।
ल हेर त ! तिम्रो देशका र अन्य बिकसित मुलुकका बिरामिहरु जसले उक्त अपरेसन गर्नु भन्दा आगाडी इ टि र डब्लु ओ सि  नर्सबाट बिस्तृत जानकारी पाउँछन्, अपरेशनको केही दिनदेखि नै अस्पतालमा इ टि र डब्लु ओ सि  नर्स कन्सल्ट गर्न बोलाइन्छ । अनि त्यसपछि स्टोमा (साइज, उचाई, स्थान, दिशा वा पिसाबको लागि बनाएको आदि ) हेरेर उपुक्त ब्याग छानिन्छ, बिरामीलाई बिस्तारै पहिले स्टोमा हेर्न र छुन लगाउने, अनि त्यसपछि  मात्र दिशा पिसाब खन्याउदा  हेर्न लगाउने, बिस्तारै खन्याउन लगाउने र अनि ब्याग फेर्दा पहिला हेर्न लगाई अनि फेर्ने क्रममा सहभागी गराइन्छ ।
यो प्रक्रियाले बिरामीमा आत्मबल  बढ्न जान्छ  र जिपनयापन सहज हुन्छ। त्यति मात्र होइन बिरामीहरु बाचुन्जेल सम्म इ टि र डब्लु ओ सि नर्सहरुको को सम्पर्कमा रहेर ब्याग कस्तो प्रकारको लगाउने, सफा गर्ने र  फेर्ने तरिका , कति दिनमा फेर्ने, खान के के हुने, के के खाँदा ग्यास बढी आउँछ र गन्हाउँछ, सामाजिक भेटघाटमा जाँदा नदेखिने र मुख बन्द भएको ब्याग लगाउने, कसरि बस्यो भने स्टोमाबाट ग्यास जादा आवाज आउँदैन, ब्यागमा कति दिशा पिसाब भरिएपछि खन्याउने,  स्टोमाको वरिपरि छाला रातो र घाउ हुन नदिन के गर्ने र घाउ भैहालेमा के गर्ने र जिवनशैली (नुहाउने, यात्रा, खेल, खाना, जटिलताको समाधान, नजिकको सम्पर्क गर्ने) इ टि र डब्लु ओ सि नर्स, ब्याग पाइने स्थान आदि ईत्यादीको जानकारी दिएर डिस्चार्ज मात्र गरिन्छ । बेला बेलामा इ टि र डब्लु ओ सि नर्ससँग फलोअपको बेबस्था छ ।  फलस्वरूप बिरामीहरु पहिलेको काममा नै फर्कन सक्छन् र जिबन ब्यबस्थित गर्न सक्छन् ।
तर अफशोच ! मेरो देस यो सेवामा निकै पछाडी छ  । तिमि दङ्ग परेकी हौली संसारमा सबै बिरामीलाई तिम्रो देशको जस्तो सुबिधा छ तर यो सोच्यौ भने तिमि झुठो साबित हुन्छेउ । यो तिम्रो दोष हुँदै होइन । मेरो देशमा पनि त्यस्तो धेरै अपेरशन हुन्छन् तर  मैले जाने सम्म म सहित नेपालमा जम्मा ४ जना मात्र इ टि र डब्लु ओ सि नर्सहरु छौं । तिमि सोच त यतिले मात्र पुग्छ त ? मैले यति भन्दै गर्दा तिमीलाई निकै दुख लागेको होला तर तिमीलाई भन्नु धेरै कुरा छन् जुन आजसम्म मनमा लुकाएर राखें ।
सर्बप्रथम त मेरो देशमा कति स्वस्थाकर्मिहरुलाई  नै यो भनेको के हो भन्ने कुराको जानकारी छैन, दोश्रो,  धेरै कम मात्र इ टि र डब्लु ओ सि  नर्सहरु छन् त ?   भएकोलाई पनि काम गर्नको लागि बातावरण छैन img_0846किनकि त्यो पदमा  काम गर्नका लागि त्यस्तो कुनै पद सिर्जना गरिएको छैन । अब भन नर्मा,  म कसरि काम गरू ? थाहा छ तिमीलाई  ठिक ठाउँमा स्टोमा नबनाउदा ब्याग नट सिने समस्या भोग्नुको साथै, ब्याग ठिक तरिकाले लगाउन, खानपान, सामाजिक भेटघाट, नुहाउने, कपडा, जटिलताको समाधान आदिको बारेमा पर्याप्त जानकारी पाउन सकेका छैनन् ।
तिमीले भर्खर ओपेरेशन गर्दाको समय जुन कपडा, प्लास्टिक, गज, स्पोंज, र रबर प्रयोग हुन्थ्यो नि, हो त्यसैको प्रयोग गरेर बाँच्नु आज हाम्रो नियति भएको छ  । किनकि आत्याधुनिक ब्यागहरु पर्याप्त छैनन्, उपलब्ध  भएको पनि निकै महँगो छ । एक सेट ब्यागको रु एक हजार भन्दा माथि छ र त्यो ब्याग धेरै  भनेको ७ दिन सम्म मात्र प्रयोग गर्न मिल्छ । धेरै जसो आन्द्राको र पिसाब थैलीको क्यान्सरले स्टोमा बनाउनु पर्ने हुँदा क्यान्सरको उपचारमा नै धेरै महँगो हुन्छ । त्यसमाथि झन् महिने पिच्छे ब्यागको लागि पैसा कहाँबाट ल्याउनु भन त ? मैले देखेकी छु तिम्रो देशका बिरामीहरु कसरी  स्वीमिङ जान्छन् ? बजार जान्छन्, साथीभाई सँगको भेटघाटमा कसरी रमाउँछन् । तर मेरो देशका कति बच्चाहरु कपडाले बेरेर कपडा बेरेर दिशा जम्मा गरेको हुँदा दिशा गन्हाउने डरले स्कूल छाडेका छन्, जानकारी नपाएर सामाजिक भेटघाटमा जाँदैनन्, महिनौं नुहाउँदैनन् ।
दिशा पिसाब लत्पतिने हुनाले घिन लागेर बुढा बुढीलाई  नाती नातिनासंग भेट्न नदिई छुट्टै कोठामा खान पकाउन र बस्नको व्यबस्था गरिन्छ र भन्न लगाइञन्छ नर्सलाई ‘सिस्टर कृपया मेरो सासू र ससुरालाई  तपार्इंलाई संक्रमण हुने रोग लागेको छ बच्चालाई छुन हुँदैन भनेर भन्दिनु ल  ।  यो प्रत्यक्ष  मैले देखेको र सुनेको कुरा हो र यसले मेरो मन छिया–छिया भएको छ । यस्ता गतिविधिले गर्दा डिप्रेशन हुने , एक्लोपन महसुस हुने र जिबन नारकीय लाग्न थाल्छ  । अपरेशन गर्नु अगाडी काउन्सिलिङ, स्टोमा बनाउने ठाउँ चिन्ह लगाउने अनि अपरेशन गरेपश्चात प्रदान गर्नुपर्ने बिशेषज्ञ सेवा र पर्याप्त आधुनिक ब्याग उपलब्ध नहुँदा बिरामीले यस्ता समस्याहरु भोग्नु परेको छ ।
प्लिज नर्मा, मलाई तिम्रो बाटो पछ््याउने एकदम ठुलो धोको छ किनकि मैले मेरो परिवेश राम्रोसँग बुझेको छु अनि बिरामीको पिडा नजिकैबाट अनुभव गर्ने मौका पाएकी छु  र म हरपल यहि कार्यमा समर्पित हुने प्रण गरेकी छु । मेरो सरकारलाई भन्देउ न ठुलो अस्पतालमा काम गर्ने नर्हरुलाई इ टि र डब्लु ओ सि  नर्सिङ पढ्न पठाउन, भएकालाई आवश्यक पद सिर्जना गरेर काममा लगाउन, देशमै तालिमको व्यवस्था गर्न, यो सेवाको महत्व बुझी उपलब्ध सेवा प्रयोग गर्न, इ टि र डब्लु ओ सि  नर्सिङ् सेवालाई अस्पताल्को मुख्य सेवामा समाबेश गरि अनुसन्धान गर्न र बिरामीहरुलाई आर्थिक सहयोग गर्न ।
मलाई आशा छ यो सबै कुरा तिमीले सुनिसके पछि सरोकारवालाहरुको ध्यान यसतर्फ केन्द्रित गरिदिनेछौ । मेरो चिठ्ठी तिमीलाई पठाउन र सुनाउन पाउदा निकै खुशी भएकी छु र यति भन्दै आजलाई कलम बन्द गर्दछु ।
उही तिम्रो बहिनी
सरस्वति भण्डारी 
इ टि र डब्लु ओ सि,
नेपाल
- See more at: http://swasthyakhabar.com/2016/06/51916.html#sthash.BaSkyMyd.dpuf

1 comment:

  1. Nice post. Well what can I say is that these is an interesting and very informative topic on stoma care

    ReplyDelete